जनतालाई न्याय, शान्ति र विकास दिन प्रतिबद्ध छुः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
२२ श्रावण २०८२, बुधबार ११:२९

२१ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बुधबार बिहान नेपाली काँग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रीमण्डल प्रतिवद्ध रहेको बताउनुभयो । ‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनको लागि राजनीति गरेको हो ।’ उहाँले भन्नुभयो –‘त्यो बाटोमा हामी एक दिन पनि नअल्मल्लिइकन ठिक र सत्य, न्याय र इन्साफ गरिबको निमुखाको सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रिय रुपमा काम गर्ने प्रतिवद्धता जनाउँदछु ।’
आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि मुख्यमन्त्री बानियाँले घोषणा गर्नुभयो । विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलब भत्ताको रकमले घर बनाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस बागमती प्रदेश समितिले नवनियुक्त मुख्यमन्त्री बानियाँसहित खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र विना विभागी मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
हेटौँडा ५ सानोपोखरामा रहेको नेपाली काँग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी प्रदेश उपसभापति चन्द्र महर्जन लगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*