विगतमा बोल्ने मात्र काम भए, अब गर्ने कुरा सुरु हुन्छः नवनियुक्त मुख्यमन्त्री बानियाँ
२० श्रावण, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानिंयाले मन्त्रालयको संख्या नबढ्ने बताउनुभएको छ ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पदभार ग्रहण पछि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या बढ्ने अवस्था नरहेको बताउनुभयो । संविधान अनुसार २२ वटा मन्त्रालय बनाउन सकिने भएतापनि संविधान संशोधन मार्फत् प्रदेशको मन्त्रालय घटाउनुपर्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले संविधानको व्यवस्थाको प्रयोग गरेर धेरै सांसद्हरु मन्त्री हुँदा प्रदेशको गौरव घटेको पनि जिकिर गर्नुभयो । जनता प्रति निष्ठावान र इमानदार भएर वर्तमान सरकारले काम गर्ने उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री बानियाँले प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । विगतमा बोल्ने मात्र काम धेरै भएकोले अब गर्ने कुरा सुरु हुने समेत उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मन्त्रीपरिषद्ले पनि छिट्टै पूर्णता पाउने दाबी गर्नुभयो । नवनियुक्त मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट प्राप्त संकल्प प्रस्तावमा उल्लेखित विषयहरूमा पहिलो निर्णय गरेका गर्नुभएको छ । जसमा आर्थिक मितव्ययिता कायम राख्ने, सुशासन कायम राख्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने विषयहरू रहेका छन् ।













