मोजाको भुकण्डोबाट फुटबल करियरको सुरुवात गरेँः साम्बा

स्वर्णिम खबर
१८ श्रावण २०८२, शनिबार १५:११

१७ श्रावण, हेटौँडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई हेटौंडामा सम्मान गरिएको छ ।
सञ्चारिका समूह मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवम् हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
सम्मान पछि बोल्नुहुँदै कप्तानी साम्बाले मोजाको भकुण्डोबाट आफुुले फुटबल करियर सुरु गरेको बताउनुभयो । सुरुवाती दिनमा धेरै मेहनत र संघर्ष गरेकै कारण अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाई छ । अरुले फुटबल खेलिरहँदा आफ्नो हातमा भने मोजाको भकुण्डो हुने गरेको साम्बाले स्मरण गर्नुभयो ।


कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उहाँको भनाई थियो । फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उहाँले बताउनुभयो । खेलकुद संगै शिक्षालाई पनि अगाडि बढाउनुपर्ने उहाँको धारणा छ ।
सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राख्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले साम्बा, प्रिति राई जस्ता खेलाडीहरुले नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाएको बताउनुभयो ।
उपप्रमुख बाँनियाले उपमहानगरपालिकाले खेल मैदानलाई प्राथमिकता दिएर ‘एक वडा एक खेल मैदान’ अवधारणामा रहेर धेरै वडामा खेलमैदान बनाएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, शिक्षाविद् पुरनबहादुर जोशी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारिका समूह मकवानपुरकी संस्थापक अध्यक्ष सरिता दाहाल लगायतले मन्तव्य राखेका थिए । सम्बालाई हेर्नका लागि मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थी, खेलप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*