चुनावमा हार जित सामान्य भएपनि गलत नजिर स्थापित भयोः मुख्यमन्त्री लामा
१४ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चुनावमा हार जित सामान्य भएपनि पार्टी विधि र विधानमा चल्नुपर्ने बताउनुभयो ।
संसदीय दलको नेता पराजित भएपश्चात् सञ्चारकर्मीसंगको कुराकानीको क्रममा मुख्यमन्त्री लामाले यस किसिमको गतिविधिले गलत नजिर स्थापित भएको प्रतिक्रिया समेत दिनुभयो । उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै पनि आधार र कारण नभएको बताउनुभयो । मुख्यमन्त्री लामाले आफु संविधान अनुसार अघि बढ्ने बताउनुभयो । संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री हुन दलको नेता आवश्यक नपर्ने भएकोले राजीनामा दिनुनपर्ने उहाँको धारणा छ ।
‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दलको नेता गुमाएको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार संविधानमा छैन । म संविधानको भावना र प्रक्रियाअनुसार अगाडि बढ्छु ।’ उनले भने ।
‘म गठबन्धनबाट मुख्यमन्त्री बनेको हुँ । सहमतीअनुसार मसँग अझै लगभग एक वर्ष मुख्यमन्त्री रहने आधार छ। त्यसअघि दुई वर्षसम्म कुनै पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउने आधार छैन,’ उनले भने, ‘त्यसकारण म मुख्यमन्त्रीबाट राजीनामा दिन्नँ ।’













