बागमती प्रदेशः राजीनामा नदिने लामाको अडान, मार्ग प्रशस्त गर्न बानिंयाको आग्रह
१३ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताउनुभएको छ ।
आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गर्नुभएको हो । सरकार र संसदीय दल फरकफरक पाटो भएको उहाँको बुझाई छ । मुख्यमन्त्री लामाले मुख्यमन्त्री हुनका लागि दलको नेता नचाहिने बताउनुभयो । उहाँले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताउनुभयो । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उहाँको भनाइ थियो ।
‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ,’ लामाले भन्नुभयो, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । ’
आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उहाँले बताउनुभयो । उहाँले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताउनुभयो ।
यता कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंयाले मुख्यमन्त्री लामाले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री लामाले दीर्घकालिन प्रभाव पार्ने निर्णयहरु तत्काल गर्न नमिल्ने सभापति बानिंयाको भनाई छ ।
कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।













