बानियाँलाई साथ दिन खानेपानी मन्त्री खड्काले पनि दिए राजीनामा
१३ श्रावण, हेटाैंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाईँ मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिनुभएकाे छ ।
मंगलबार मन्त्री खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाउनु भएकाे हाे ।
कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामा विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा मन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।
अविश्वाशको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर सांसद ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेका बताउनुभयाे ।
यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामा र बानियाँबीचमा भएको निर्वाचनमा खड्काले लामालाई समर्थन गर्दै आउनुभएकाे थियाे ।
यो सँगै बगमतीमा कांग्रेसका ५ मन्त्रीले राजीनामा दिएका हुन्। यसअघि प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए। पाँचजनै मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। अविश्वासको प्रस्तावमा बहुमत पुर्याउन बानियाँ समूह सक्रिय देखिएका छन्।













