लोक संगीत चौतारी मकवानपुरको पहिलो वार्षिकोत्सव सम्पन्न
१० श्रावण, हेटौँडा । मौलिक लोकगीत संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको लोक संगीत चौतारी मकवानपुरको पहिलो वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यतामा शनिबार हेटौंडा २ बनस्खण्डीमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुलामीले लोकगीत, लोकसंस्कृति र मौलिक पहिचानको संरक्षण अत्यावश्यक भएको बताउनुभयो । लोक संगितको संरक्षणमा चौतारीले दिएको योगदानको चर्चा समेत उहाँले गर्नुभयो । स्थानीय मौलिकता जगेर्ना गर्न यस्ता संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा थियो ।
कार्यक्रममा बिधान लेखन मस्यौदा समिति संयोजक गणेश तिमल्सिनालाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । साथै संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । उक्त अवसरमा शारीरिक अशक्तता भएकी मिथिला अधिकारीलाई निःशुल्क आजीवन सदस्यता प्रदान गरिएको थियो । लोक चौतारीले हरेक शनिबार बिहान साढे ११ बजेबाट भक्तिभजन र दिउँसो १ बजेबाट ५ बजेसम्म लोक दोहोरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा हेटौंडाको पर्यटकीय स्थल समेटिएको सांगीतिक कोसेलीका साथै अन्य विविध लोकदोहोरी प्रस्तुत गरिएको थियो । लोक संगीत चौतारी मकवानपुरका अध्यक्ष सिताराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा भुमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन चौलागाई लगायतको उपस्थिती थियो ।













