बागमतीको १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान
३० असार, हेटौँडा । बागमती प्रदेशको १० जिल्लामा सिसिटिभी जडान भई सञ्चालनमा आएको छ ।
मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बीच प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी जडान तथा सञ्चालन कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।
सार्वजनिक सुरक्षालाई सुदुढीकरण गर्न, निगरानी र अपराध रोकथामको प्रभावकारिताको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा १० जिल्लाको ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री लामिछानेले क्यामरा जडानबाट प्रदेशको शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी कार्यालयहरुको लागि नयाँ भवन बनाउन, भएका भवनहरुको संरचना सुधार गर्न, थप क्यामरा जडानको लागि आगामी वर्ष ३ करोडको बजेट विनियोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो । मन्त्री लामिछानेले प्रदेश सरकार स्थापनाको ७ वर्ष सम्म पनि प्रहरी समायोजनको विषय पेचिलो बन्दै गएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुुहुँदै बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले पछिल्लो समय प्रविधिको तीव्रतर विकासले सुरक्षामा ठुलो चुनौती थपिँदै गएको बताउनुभयो । सुरक्षा उपकरणको प्रयोग गरी सुरक्षाको निगरानी गर्नुपर्ने आजको आवश्यक रहेको उहाँको भनाई छ । प्रहरी प्रमुख पौडेलले सीमित जनशक्तिबाट प्रहरी संगठनले काम गरिरहेकोले थप जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेशमा अझै पनि २ सय ५० वटा क्यामराको आवश्यकता रहेको बताउनुहुँदै उहाँले आगामी वर्षमा थप १ सय वटा क्यामरा जडान गरिने उल्लेख गर्नुभयो ।
जडान गरिएको क्यामरालाई ३८ वटा प्रहरी युनिटबाट नियमित रुपमा निगरानी गर्ने गरी व्यवस्था मिलाइएको छ । अन्तर प्रादेशिक सिमाना तथा राष्ट्रिय राजमार्गका सम्वेदनशील ३ स्थानहरु चितवन, सिन्धुली र मकवानपुरमा अत्याधुनिक प्रविधियुक्त ए.एन.पि.आर क्यामरा र रडार प्रणाली समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक संजय थापाले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामरामा कम्तीमा ९० दिनको डाटा भण्डारण क्षमताको व्यवस्था रहेको र विद्युत अवरोधको अवस्थामा पनि सिस्टम बन्द नहुने गरी पावर ब्याक अपको व्यवस्था गरिएको छ । क्यामरा जडानको लागि मन्त्रालयबाट २ करोड ९७ लाख रुपैंयाको स्वीकृति लिई नेक्सट् जेन आइटी सोलुसन प्रा.लि संग २ करोड ८४ लाखमा जेठ १० गते सम्झौता गरिएको थियो । क्यामराको वारेन्टी २ वर्षको रहेको र सम्भावित जोखिम व्यवस्थापन सुनिश्चित गर्न बिमा समेत गरिएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताउनुभयो । कार्यक्रममा मध्य पृतना हेडक्वाटर सुपारीटारका उपरथी हरेन्द्र पाठक, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।















