महिला गोल्डकपमा ८ लाख ३५ हजार मुनाफा
२७ असार, हेटौँडा । सातौं स्थानीय तह शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा ८ लाख भन्दा बढी मुनाफा भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय विवरण सार्वजनिक गर्दै ८ लाख ३५ हजार मुनाफा भएको जानकारी गराएको हो ।
प्रतियोगितामा ६४ लाख ९८ हजार आम्दानी र ५६ लाख ६२ हजार खर्च भएको संघका कोषाध्यक्ष अमृत लुङबाले जानकारी दिनुभयो । २०८२ वैशाख १९ गतेदेखि २५ गतेसम्म हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफले उपाधि जितेको थियो ।
हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोग एवम् बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका लगायतको विशेष सहयोगमा भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।
पत्रकार सम्मेलनमा एन्फाका केन्द्रिय सदस्य एवम् फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, महासचिव छविलाल सुवेदी, गोल्डकप संयोजक प्रताप विष्ट लगायतको आतिथ्यता रहेको थियो । यसअघि छैटौं संस्करणसम्म पुरुष गोल्डकप गर्दै आएको संघले प्रतियोगिता घाटामा गएपछि सातौं संस्करणदेखि महिला गोल्डकपको आयोजना गरेको हो ।

















