बागमती प्रदेशमा ७४ प्रतिशत मात्रै बजेट खर्च, २६ प्रतिशत बजेट फ्रिज

स्वर्णिम खबर
२६ असार २०८२, बिहीबार १८:१६

२६ असार, हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजित कुल बजेटको ७४ प्रतिशत मात्र खर्च गरेको छ ।
चालु आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा प्रदेश सरकारले असारसम्म ७४ प्रतिशत अर्थात् ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रकको कार्यालय, हेटौंडाका अनुसार बागमतीका १४ मन्त्रालय, आयोग र निकायहरुबाट चालु खर्चतर्फ ७१ दशमलब ५ प्रतिशत अर्थात् १८ अर्ब ४० करोड रुपैयाँ र पुँजीगततर्फ ७८ दशमलब ५० प्रतिशत अर्थात् २८ अर्ब ४० करोड रुपैयाँ बजेट खर्च भएको छ ।
प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो भने विकास बजेटतर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत वर्षको तुलनामा बागमती सरकारको बजेट खर्च सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको बागमती सरकारले चालु आर्थिक वर्षमा ७४ प्रतिशत बजेट खर्च गरेको हो । योसंगै प्रदेशको २६ प्रतिशत अर्थात् १६ अर्ब ७५ करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
प्रदेशको १४ मन्त्रालयमध्ये सबैभन्दा बढी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयले कुल बजेट ७ अर्ब ४७ करोड रुपैयाँमध्ये ६ अर्ब ९५ करोड रुपैयाँ अर्थात् ९३ प्रतिशत खर्च गरेको छ ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ८० प्रतिशत बजेट खर्च गरेको छ । सो मन्त्रालयले कुल विनियोजित ४७ करोड ११ लाख रुपैयाँ बजेटमध्ये ३७ करोड ८६ करोड रुपैयाँ खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब १५ करोड २३ लाख रुपैयाँ बजेटमध्ये १ अर्ब ६८ करोड रुपैयाँ अर्थात् ६७ दशमलब २९ प्रतिशत खर्च गरेको छ ।
सबैभन्दा बढी बजेट २३ अर्ब १३ करोड रुपैयाँ बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १७ अर्ब ३४ करोड रुपैयाँ अर्थात् ७५ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयको ३ अर्ब ९३ करोड रुपैयाँ बजेटमध्ये ३ अर्ब २० लाख रुपैयाँ खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको ४ अर्ब १६ करोड बजेटमध्ये ३ अर्ब ३० करोड रुपैयाँ अर्थात् ७९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै वन तथा वातावरण मन्त्रालयको ३ अर्ब ३८ करोड रुपैयाँ बजेटमध्ये २ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ७९ प्रतिशत, संस्कृति तथा पर्यटन मन्त्रालयले २ अर्ब ६४ करोड रुपैयाँ बजेटमध्ये २ अर्ब ६ करोड रुपैयाँ अर्थात् ७८ दशमलब २६ प्रतिशत खर्च गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले ८२ करोड ८ लाख रुपैयाँ बजेटमध्ये ७९ दशमलब २९ प्रतिशत अर्थात् ६५ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ भने श्रम रोजगार तथा यातायात मन्त्रालयले ९४ करोड ६८ लाख रुपैयाँ बजेटमध्ये ५७ करोड ४० लाख रुपैयाँ अर्थात् ६० दशमलब ६३ प्रतिशत बजेट खर्च गरेको छ ।
यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको ७३ करोड ७९ लाख रुपैयाँ बजेटमध्ये ५२ करोड ६५ लाख रुपैयाँ अर्थात् ७१ अर्थात् ६३ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको २५ करोड ५३ लाख रुपैयाँ बजेटमध्ये १५ करोड ६५ लाख रुपैयाँ अर्थात् ६१ प्रतिशत बजेट खर्च भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ४८ करोड १८ लाख रुपैयाँ बजेटमध्ये २४ करोड ६९ लाख रुपैयाँ अर्थात् ५१ दशमलब २६ प्रतिशत खर्च गरेको छ ।
आगामी आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*