लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने
१२ असार, काठमाडौँ । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।
बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो घोषणा गर्नुभएको हो । उहाँले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत छुट्टै विभागको स्थापना गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । उहाँले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताउनु भयो ।
गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताउनु भयो । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको बताउनुभयो ।













