२ दिने स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु

स्वर्णिम खबर
६ असार २०८२, शुक्रबार २०:३९

६ असार, हेटौँडा । हेटौँडामा २ दिने स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु भएको छ ।
उद्योग संघ मकवानपुरको आयोजना एवम् प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँगको सहकार्यमा २ दिने सम्मेलन सुरु भएको हो । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषालको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सचिव भुषालले नवप्रवर्तन र उद्यमशीलतामा निजी क्षेत्रले नै अगुवाई गर्ने र राज्यले त्यसका लागि वातावरण बनाउने बताउनुभयो । उहाँले नवप्रवर्तन र उद्यमशीलतामा प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उद्योग र उद्यमीको सम्भावनाहरु पहिचान हुन नसक्दा कुल बजेटको १ प्रतिशत पनि उद्योग क्षेत्रमा बजेट विनियोजन हुन नसकेको उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सिकाईलाई सिपसंग जोड्नुपर्ने बताउनुभयो । जाँगरिला मानसिकता त्यागेर उद्यमशीलतालाई प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नवप्रवर्तनको माध्यमबाट समाजलाई समुन्नतको दिशामा अगाडि बढाउनुपर्ने बताउनुभयो । रोजगारीको अवसर सिर्जना गरेर समाजमा ब्याप्त बेरोजगारीको समस्या हल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने सम्मेलनमा दीगो उद्यमशीलताको विषयमा प्रमुख वक्ताको रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलिया रहनुभएको थियो । पहिलो दिन प्रमुख वक्ताको प्रस्तुतीसँगै नेपालमा दीगो उद्यमशीलताको विषयमा समूह छलफल, बजारीकरणको विषयमा कार्यशाला, उद्यमशीलतामा कृत्रिम वौद्धिकता (एआई) को प्रयोगका विषयमा प्रस्तुती भएको थियो ।


यस्तै दोस्रो दिन शनिबार ‘उद्यमशीलतामा महिला सहभागिता ः चुनौति र अवसर’ विषयक समूह छलफल, बजेटमा नवप्रवर्तन र उद्यमशीलताको विषयमा छलफल हुनेछ भने नेपालको उद्यमशीलता चक्रमा प्रारम्भिक लगानीकर्ताको भूमिका विषयमा छलफल हुनेछ । सम्मेलनमा मकवानपुरसहित चितवन, सिन्धुली, धादिङ, नुवाकोट, दोलखा जिल्लाबाट उद्योग तथा वाणिज्य संघका पदाधिकारी, उद्यमी, स्टार्टअप योजनामा सहभागी नवउद्यमी, विद्यार्थीको सहभागिता रहेको छ ।
उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष श्रीहरि मास्केको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, उद्योग संघका पूर्व अध्यक्ष नवराज अर्याल, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*