पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै भएको छैनः प्रधानमन्त्री ओली
२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको हो । उहाँले पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिरहेको बेलामा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गर्नुभयो ।
उहाँले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरुको प्रतिकार गर्न निर्देशन दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गर्नुभयो । बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक कुरा भए पार्टीभित्र गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न चेतावनी दिनुभयो ।













