राजावादीहरुले समाजमा गलत भ्रम फैलाउँदै छः नेता थपलिया

स्वर्णिम खबर
२५ जेष्ठ २०८२, शनिबार १८:५३

२४ जेठ, हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपाली समाजलाई राजावादीहरुले गलत दिशामा लैजान खोजिरहेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल बागमती प्रदेशको आयोजनामा शनिबार हेटौंडामा भएको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्नुहुँदै नेता थपलियाले २०६२÷६३ को जनआन्दोलनबाट फालिएको राजतन्त्र फेरि आउन सक्ने भन्दै राजावादीहरुले समाजमा गलत भ्रम फैलाइरहेको बताउनुभयो । नेपाली जनताले राजतन्त्रलाई कदापि नस्वीकार्ने समेत उहाँले दाबी गर्नुभयो ।
नेता थपलियाले देश समाजवादको दिशामा अग्रसर भएको बताउनुभयो । उपलब्ध स्रोत र साधनको उपयोग गरी वर्तमान सरकार व्यवस्थित ढंगले अघि बढिरहेको उहाँको भनाई छ । राजनीतिक अस्थिरता सिर्जना गरेर नकारात्मक ढंगले समाजको चित्रण गर्ने प्रवृत्ति देखा पर्दै गएको समेत नेता थपलियाले उल्लेख गर्नुभयो ।
नेता थपलियाले अस्थिर सरकारबाट सुशासन प्रणालीलाई व्यवस्थित बनाउन नसकिने बताउनुभयो । जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी विकास निर्माणको कार्य गर्न स्थायी सरकार आवश्यक भएको उहाँको भनाई छ । २०६२÷६३ को जनआन्दोलनपछि एकल बहुमतको सरकार बनाउन सक्ने स्थितिको संविधान बनाउन नसक्दा राजनीतिक अस्थिरताको बिगबिगी भएको नेता थपलियाले बताउनुभयो ।


स्थायी सरकार बनाउनुपर्छ भन्ने मान्यता अनुरुप नै कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उहाँको धारणा छ । नेता थपलियाले स्थायी सरकार निर्माणको लागि संविधानमा नमिलेका विषयवस्तुलाई मिलाउने गृहकार्य भइरहेको समेत बताउनुभयो ।
नेता थपलियाले समाजमा रहेका निराशाहरुलाई चिर्ने गरी प्रेस चौतारीकर्मीहरुले आफ्नो कलम चलाउनुपर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलक रिमालको सभाध्यक्षता एवम् केन्द्रिय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले एआईसंग सहकार्य रचनात्मक पत्रकारिता,
आइटी इञ्जिनियर विवेकानन्द न्यौपानेले पत्रकारितामा सूचना प्रविधिको समुचित प्रयोग, साइबर सुरक्षा र प्रेस चौतारी नेपालका महासचिव लामाले संगठनात्मक संरचना र प्रेस चौतारी नेपालको आगामी योजनाको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, महासंघका बागमती प्रदेश उपाध्यक्ष हरी हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*