राष्ट्रको हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व छः प्रधानमन्त्री ओली
१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अफ्ठ्यारो नलाग्ने बताउनु भयो ।
आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको उहाँले बताउनु भयो । आफू इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउने नेकपा एमालेको झोले भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरुको चरित्र हत्या गरेर बुस्ट गरेका प्रतिक्रियाहरुको पछि नलाग्न आग्रह गर्नुभयो । आफूलाई झोले भन्नेहरु देख्दा मानिस भएपनि मानव मेसिन भएको टिप्पणी गर्नुभयो ।













