सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदा प्रतिपक्षी तर्फ अधिकांश कुर्सी खाली

मनिल महतो
८ जेष्ठ २०८२, बुधबार १७:१६

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सिद्धान्त र प्राथमिकता माथि छलफल प्रारम्भ हुँदै प्रतिपक्षी तर्फ अधिकाशं कुर्सीहरु खाली थिए । छलफलमा भाग लिँदै नेकपा एमालेकी सांसद् भारती पाठकले सिद्धान्त र प्राथमिकतालाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सरकारको प्राथमिकताहरु प्रत्येक वर्ष परिवर्तन हुनुपर्ने भएपनि राम्रो कामलाई भने निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । सांसद् पाठकले दिगो विकासको लक्ष्य हासिल हुने गरी सबै क्षेत्रलाई न्यायोचित ढंगले बजेट विनियोजना हुनुपर्ने बताउनुभयो ।
आर्थिक विकास र पूर्वाधार निर्माणको एजेण्डलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेमात्र बागमती प्रदेश समृद्ध हुने उहाँले बताउनुभयो । त्यसैगरी अर्का प्रदेशसभा सदस्य उर्मिला सुनुवारले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।
विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतालाई स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेपनि लगानी भने बृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । सांसद् सुनुवारले बागमती प्रदेशमा पर्यटनको विकास गर्ने ठाउँहरु धेरै भएकोले त्यस्तो ठाउँको स्थलगत पहिचान गरेर प्राथमिकताको आधारमा पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद् ठाकुरप्रसाद ढकालले विगतको तुलनामा बजेटको आकार घट्दै गर्दा समृद्ध बागमती बनाउन नसकिने बताउनुभयो ।
प्रदेश समृद्धिको एजेण्डा सिद्धान्त र प्राथमिकतामा समावेश नभएको उहाँको भनाई छ । जनताले आशा गरे अनुसारको विकास गर्न सबै दलहरु गम्भीर हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । यसैगरी नेपाल मजुदर किसान पार्टीकी सांसद् सिर्जना सैजुले बहुदल स्थापनाको ३५ वर्षसम्म पनि नेपाल आत्मनिर्भर बन्न नसक्नु लज्जाको विषय भएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई उद्योगसंग जोड्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद् लक्ष्मण लम्सालले सार्वजनिक सेवा प्रवाहलाई कसरी सहज बनाउन सकिन्छ भन्ने एजेण्डा सरकारको सिद्धान्त र प्राथमिकतामा नपरेको बताउनुभयो । आन्तरिक आय बढाउने कुरा सकारात्मक भएपनि पुँजी परिचालनलाई प्राथमिकतामा राख्ने उहाँले सरकारलाई सुझाव दिनुभयो । यस्तै बागमती प्रदेशसभा सदस्य डा.दिनेशचन्द्र देवकोटाले अधुरा आयोजनाहरुलाई नीति कार्यक्रममा समेट्न सुझाव दिनुभयो । विदेशी लगानी र निजी क्षेत्रको प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ । प्रदेशसभाको अर्को बैठक बिहिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*