समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा आगामी बजेट केन्द्रित हुनेछः मन्त्री काफ्ले
६ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको हो । प्रदश सरकारको दोश्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरुलाई कार्यान्वयन गर्न बजेट तर्जुमा गरिने मन्त्री काफ्लेले बताउनुभयो । नेपालको संविधानमा उल्लेख भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, प्रदेश सरकारको अधिकारको क्षेत्रहरु र बागमती प्रदेश सरकारको दोश्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य,रणनीति र प्राथमिकताहरुलाई कार्यान्वयन गर्ने गरी आगामी वर्षको बजेट तर्जुमा गरिने मन्त्री काफ्लेले बताउनुभयो । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको संस्थागत क्षमता विकास गरिने समेत उहाँको भनाई छ ।
समाजवाद उन्मुख र समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित रहने मन्त्री काफ्लेले बताउनुभयो । प्रदेश गौरवका आयोजना, क्रमागत आयोजना र अधुरा योजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिने समेत उहाँले उल्लेख गर्नुभयो । प्रदेशको आन्तरिक आयमा सहयोग पुग्ने क्षेत्रहरुमा लगानी बढाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । स्थानीय तहमा हस्तान्तरण हुने सशर्त, समपुरक तथा विशेष अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजनाहरुको नियमित अनुगमन र आवधिक मुल्याङकन गरिने समेत उहाँले बताउनुभयो ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिको लागि कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिने मन्त्री काफ्लेले बताउनुभयो ।
‘माटोको उर्वराशक्ति अभिवृद्धिको लागि जैविक मलमा आधारित खेतीलाई प्रोत्साहित गर्दै कृषिजन्य जमिनमा सिचाई सुविधा विस्तारको लागि बजेट विनियोजन गरिनेछ । ’ उहाँले भन्नुभयो , ‘ संघीय सरकार र स्थानीय तहसंग समन्वय र सहकार्य गरी कृषि उपजको उत्पादन, सुरक्षित भण्डार, प्याकेजिङ तथा बजारीकरण गरिनेछ ।
मन्त्री काफ्लेले गुणस्तरीय शिक्षा र शैक्षिक क्षेत्रको विकासको लागि स्थानीय तहहरुसंगको सहकार्यमा सार्वजनिक विद्यालयको संस्थागत विकास मार्फत् शैक्षिक गुणस्तरमा सुधार गरिने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको विकासलाई बहुआयमिक रुपमा अगाडि बढाउँदै प्रादेशिक अस्पताल एवम् स्वास्थ्य संस्थाहरुमा पूर्वाधारको विकास गरिने कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
मन्त्री काफ्लेले प्रदेशको पहिचानको रुपमा रहेको भाषा, संस्कृति,साहित्यको संरक्षण र प्रवद्र्धनको लागि बजेट विनियोजन गरिने समेत बताउनुभयो । एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग स्थापनामा सहयोग पुग्ने गरी कार्यक्रमहरु तर्जुमा गरिने समेत उहाँको भनाई छ ।
एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान प्राथमिकताको आधारमा निर्माण गरिने समेत उहाँले उल्लेख गर्नुभयो । प्रदेश सरकारको पुँजीगत खर्चमा गुणस्तर अभिवृद्धि हुने गरी प्रशासनिक निकायको क्षमतामा अभिवृद्धि गरिने समेत उहाँले बताउनुभयो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि जेठ ७, ८ र ९ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो ।













