संगिना बनिन् बागमतीको शान, राजन र एरिका उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित
४ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले पहिलो पटक बागमती प्रदेश खेलकुद अवार्ड प्रदान गरेको छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आइतबार एक भब्य कार्यक्रमको आयोजना गरी यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको हो ।
स्पोर्टस अवार्डमा राष्ट्रिय खोखो खेलाडी मकवानपुरका राजन बलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । अवार्डसँगै राजनले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । राजन बल नेपालको राष्ट्रिय खोखो टोलीका सदस्य हुन् । नेपालले यसै वर्ष खोखो विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दा टोलीका महत्वपूर्ण सदस्य थिए । नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेका राजनले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए । खेल जीवनमा एकपछि अर्को सफलता हासिल गरेका राजनले प्रशिक्षकको भूमिकामा पनि छन् ।
यसैगरी चर्चित राष्ट्रिय कराते खेलाडी धादिङकी एरिका गुरुङ बागमती स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् । अवार्डसँगै एरिकाले नगद १ लाख रुपैयाँ पनि प्राप्त गरेकी छिन् । छोटो समयमा एरिकाले प्राप्त गरेको सफलता र पदक लोभलाग्दो छ। स्टार कराते खेलाडी एरिकाले गत वर्ष २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत हात पारिन् । एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियाको प्रतियोगितामा नेपालले जितेको यो पहिलो पदक बन्यो । यसअघि १९ औं एसियाली खेलकुदमा २५ वर्षको व्यक्तिगत रजतको खडेरीलाई तोडिन् ।
राष्ट्रिय एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी खेलाडी सलिना श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी आयुष घलानले बागमती प्रदेश स्पोर्टस अवार्ड लोकप्रिय विधा प्राप्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ, राष्ट्रिय भलिबल टोलीकी खेलाडी सलिना श्रेष्ठ, राष्ट्रिय फुटबल खेलाडी आयुष घलान बागमती प्रदेश स्पोर्टस अवार्ड लोकप्रिय विधा प्राप्त गरेका छन् । अवार्डसँगै उनीहरुले लाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
सन्तोषी नेपालका लागि एथलेटिक्सबाट दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी हुन् । सन् २०१९ मा नेपालमा आयोजित १३ औं सागमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सलिना नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी पहिलो रोजाइकी लिबेरो हुन् । नेपलको महिला भलिबलमा खेलाडी उद्यानको परिचय बनाएको न्यु डायमन्डकी उत्पादन सलिनाले पटक–पटक विभागीय टोलीबाट प्रस्ताव आएपनि आफ्नो क्लब छोडीनन् । उनले राष्ट्रिय स्तरको प्रतियोगितामा भने बागमती प्रदेशकै प्रतिनिधित्व गर्दै आएकी छिन् । आयुष नेपाली फुटबलले पछिल्लो समय पाएका नयाँ स्टार हुन् । नेपालका लागि उमेर समूह हुँदै सिनियर टोलीमा नियमित स्थान बनाउन सफल विंगरले घरेलु फुटबलमा पनि उत्कृष्ट छाप छोडेका छन् ।
त्यसैैगरी ऐतिहासिक तेक्वान्दो खेलाडी संगिना वैद्य ‘बागमतीको शान अवार्ड’ प्राप्त गर्न सफल भएकी छिन् । अवार्डसँगै उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन् । बैंककमा सम्पन्न एसिया र ओसियाना क्षेत्रीय छनोट प्रतियोगितामा जित निकाल्दै उनी सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनिन्। त्यो क्षण नेपाली खेलकुदको इतिहासमा कोरिएको स्वर्ण अक्षर हो।
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य उत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । कार्यक्रममा सदभावलाई युवा खेलाडी अवार्ड सहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ।उनले गत वर्ष २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु–२१ तर्फ ऐतिहासिक उपाधि जिते। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा जितेको यो पहिलो उपाधि हो। सदभाव ओभरअलतर्फ दोस्रो भए । त्यस्तै ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले ऐतिहासिक स्वर्ण जिते। उनी यो च्याम्पियनसिप जित्ने पहिलो नेपाली खेलाडी बने । स्पोर्टस अवार्डमा पारा ओलम्पिक्सकी विजेता पलेशा गोवर्धन उत्कृष्ट पारा खेलाडीको अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। अवाडसँगै उनलाई ५० हजार प्रदान गरिएको छ । उनी अहिले अध्ययनको क्रममा चीनमा रहेकी छिन्। उनको बुवा प्रदीप गोवर्धनले अवार्ड ग्रहण गरे । पलेशा ऐतिहासिक पारा ओलम्पिक्स पदक विजेता खेलाडी हुन्। विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो। उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन्।नेपालको खेलकुदको इतिहासमा सर्वाधिक सफल खेलाडी पलेशाले पेरिस पारालिम्पिक्समा के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह कास्य जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचिन्। त्यसैगरी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरिएको छ । अवार्डसंगै उनलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
नेपालले जितेको सबैभन्दा ठुलो पदक पेरिस पारालिम्पक्समा पलेशा गोवर्धनले जितेको कास्य पदक हो। सो कास्य पदकको पर्दा पछाडिका एकल नायक प्रशिक्षक मकवानपुरका कविराज नेगी हुन् ।
वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई उत्कृष्ट खेलकुद पत्रकार अवार्ड प्रदान गरिएको छ। अवाडसँगै उनलाई ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ । झन्डै साढे चार दशकयता फोटो र भिडियोमार्फत खेलकुद पत्रकारितामा सक्रिय सहभागिता हुँदै आएका चित्रकार ८२ वर्षको उमेरमा पनि आफ्नो कर्ममा उत्तिकै सक्रिय छन् ।२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदबाट खेलकुद पत्रकारितामा सक्रिय चित्रकारले नवौं संस्करण सम्म आइपुग्दा फोटो र भिडियोको सग्रह नै बनाएका छन् । यसैगरी ललितपुुरका विनोद महर्जनले उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्ड पाएका छन् । साथै उनले नगद ५० हजार रुपैयाँ पनि प्राप्त गरेका छन् ।
खेल जीवन पश्चात पाएको अवसर र जिम्मेवारीलाई सकुशल निर्वाह गर्न सफल महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन् । किक बक्सिङका आफ्नो समयका च्याम्पियन महर्जनले दोस्रो पटक ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा निरन्तरता पाएका हुन्। महर्जनको नेतृत्वमा १३ वटा खेलहरु समावेश गरी ललितपुर जिल्ला बृहत खेलकुद महोत्सव आयोजना भएको थियो । यता एथलेटिक्सका लिजेन्ड बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफ टाइम एचिभमेन्ट अचार्डबाट सम्मान गरिएको छ। मानन्धर र केसी दुबैलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड सहित समान १ लाख रुपैयाँ प्रदान गरिएको छ । मानन्धरले सन् १९८७ मा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको समय आजसम्म साग म्याराथनको कीर्तिमानका रूपमा अटल छ । मानन्धरले ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे। सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिकमा सहभागिता जनाउने उनी पहिलो र एक्लो नेपाली खेलाडी हुन्। नेपाली खेलकुदको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरवशाली नाम हो, दोलाखाका धावक जितबहादुर केसी। १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जिते।त्यो कांस्य पदक नै नेपालको कुनै पनि खेलबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त पहिलो पदक थियो । अवार्ड वितरण कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा सहित मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो ।













