जुत्ता संघको गतिविधि उत्पादन र रोजगार केन्द्रित हुनुपर्छः उपप्रमुख बानिंया
३ जेठ, हेटौँडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको नगर उपप्रमुख राजेश बानिंयाको प्रमुख आतिथ्यता एवम् संघका अध्यक्ष रामहरी तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख बानिंयाले संघको गतिविधि उत्पादन र रोजगार केन्द्रित हुनुपर्ने बताउनुभयो ।
स्थानीय सरकार व्यवसायीहरुसंग सहकार्य गर्न तयार भएको उहाँले बताउनुभयो । नगर उपप्रमुख बानिंयाले व्यवसायीहरुलाई प्रत्यक्ष लाभ नहुने मेला महोत्सवलाई उपमहानगरले कानुन नै बनाएर निस्तेज पार्ने समेत जानकारी दिनुभयो । स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने मेलालाई मात्र अनुमति दिने उहाँले बताउनुभयो । नगर उपप्रमुख बानिंयाले स्थानीय सरकार र उद्योग वाणिज्य संघको सम्बन्धमा चिसोपना आएको स्वीकार समेत गर्नुभयो । उहाँले अब आफुहरु व्यवसायीहरुसंग हातेमालो गर्दै अगाडि बढ्न तयार समेत बताउनुभयो ।

कार्यक्रममा संघले पत्रकार तर्फ टिम टेलिभिजनका संवाद्दाता कपिल खड्का र व्यवसायी तर्फ डि.आर.सुज कलेक्सनका प्रोपाइटर लक्ष्मण शाहलाई सम्मान समेत गरेको छ । अधिवेशनले पुनःरामहरी तिमल्सिनाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल,उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रल्हाद खनाल, सचिवमा मोहन उप्रेती र कोषध्यक्षमा राजु लम्साल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दधिराम गौतम, अर्जुन केशरी, रणदुलाल सार्की, आशिष कुमार पराजुली, कृष्ण चौलागाई, निसान गौतम र सलिम अन्सारी चुनिएका छन् । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षहरु उज्वल चौलागाई, राजु अधिकारी, चेम्बर अफ कर्मश मकवानपुरका अध्यक्ष माधव न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।













