साहित्य संगमले ८ जना स्रष्टालाई सम्मान गर्ने
२ जेठ, हेटौँडा । साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा स्रष्टालाई सम्मान गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै संगमले विभिन्न विधामा ८ जना स्रष्टालाई जेठ १० गते शनिबार हेटौंडा पार्टी प्यालेशमा आयोजना हुने कार्यक्रममा सम्मान गर्न लागेको जानकारी दिएको हो ।
मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गर्न लागिएको संगमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ । त्यसैगरी १५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित हुने भएको छ । विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट ११ हजार १११ रुपैंया नगद सहित रामकुमार एलनलाई सम्मानित गरिन लागिएको सचिव पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी १० हजार राशीको दिपक मुडभरी स्मृति सम्मान २०८१ समिर पाख्रिनलाई प्रदान गरिने भएको छ ।
त्यस्तै मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट वबि थापा नगद राशी १० हजार सहित सम्मानित हुने सचिव पोखरेलले बताउनुभयो । मुक्तितारा सम्मान २०८१ बाट रु १० हजार सहित यश लामालाई सम्मान गरिने भएको छ । यसैगरी १० हजार राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मानित गरिने सचिव पोखरेलले जानकारी दिनुभयो । साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट नगद राशि रु २५ हजार १ रुपैंया सहित अभय श्रेष्ठलाई सम्मान गरिने जनाईएको छ ।
हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुन लागेको कार्यक्रम सम्पन्न गर्न साढे २ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । यस उत्सवको उद्देश्य जिल्लाको कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु तथा नयाँ पुस्तामा सिर्जनशील चेतना विकास गराउँदै साहित्यिक भावनाको सम्वद्र्धन गर्नु रहेको संगमका अध्यक्ष डि.बि.बर्तौलाले बताउनुभयो ।
कार्यक्रममा सम्मानित स्रष्टाहरुको रचना वाचन समेत हुनेछ । उत्सवको अवसरमा सपना र सम्भावनाःसिर्जनामा नयाँ पुस्ता, कविताःयुगको प्रतिबिम्बनको विषयमा प्यानल डिस्कसन समेत हुने अध्यक्ष बर्तौलाले बताउनुभयो ।













