प्रथम बागमती प्रदेश खेलकुद अवार्ड जेठ ४ गते हुने
१ जेठ, हेटौँडा । प्रथम बागमती प्रदेश खेलकुद अवार्ड जेठ ४ गते हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यका साथ हेटौंडा ४ स्थित हुप्राचौरमा अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम हुने बताइएको छ ।
बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको सान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी ८ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन लागिएको मन्त्रालयका निमित्त सचिव सुर्यबहादुर दाहालले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही १ लाखको पुरस्कार प्रदान गरिनेछ भने बाँकीलाई जनही ५० हजार रुपैँया सहित अवार्ड प्रदान गरिने उनले बताए । कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु समेत रहने बताइएको छ । कार्यक्रमलाई सम्पन्न गर्नका लागि मन्त्रालयबाट सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न लागिएको बताउनुभयो । खेल क्षेत्रमा नँया खेलाडीको रुपमा प्रवेश गरेका युवाहरुलाईसमेत खेलकुदमा आवद्ध हुन हौसला र प्रेरणास्वरुप अर्वाड प्रदान गरिने उहाँले बताउनुभयो ।
‘बागमती प्रदेशमा दिनमा २५ देखि ३० वटा विभिन्न खेलकुद प्रतियोगिताहरु भइरहेका छन् । ’ मन्त्री महर्जनले भन्नुभयो , ‘ हामीले यो अवार्ड दिन सुरुवात गरिसकेपछि अरु प्रदेशले पनि यस्तै कार्यक्रम गरोस् भन्ने हाम्रो चाहना हो । ’
साथै युथ समिट भने केहि सातापछि आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।













