जमिनमा जल र मलको संयोजन मिलाउनुपर्छः सहामहामन्त्री डिना
३१ वैशाख, हेटौँडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले जमिनमा जल र मलको संयोजन मिलाउनुपर्ने बताउनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका –७ मा हर्दा खहरे बोरिङ सिचाई आयोजनाको उद्घाटन गर्नुहुँदै उहाँले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताउनुभयो ।
सहमहामन्त्री डिनाले रासायनिक मलको कारण माटोको उर्वराशक्ति हस हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता भएको समेत उहाँको भनाई छ । सहमहामन्त्री डिनाले अब जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले पनि जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राख्नुभयो । बागमती प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रबन्ध गरेर रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । उहाँले तीन तहको सरकारबीच समन्वय गरी विकास निर्माणका कार्यहरू अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खड्काले निर्वाचित जनप्रतिनिधिहरूले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता पनि औँल्याउनुभयो ।
प्रदेश सरकारको सहयोगमा कुल ३६ लाख लागतमा बोरिङको निर्माण गरिएको हो । आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई सुविधा उपलब्ध हुने बताइएको छ ।

बंजर जमिनमा सिँचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू खुशी भएका छन् । आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका किसानहरु वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।
यो सिचाई आयोजनाले १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताउनुभयो । सिँचाई उपभोक्ता समितिका अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस नेता आनन्दराम पराजुली, पालिकाका पूर्व अध्यक्ष दामाेदर खनाल लगायत अन्य जनप्रतिनिधि, स्थानीयको उपस्थिती रहेकाे थियो ।














