बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता एउटै हुनुपर्छः मन्त्री काफ्ले
१७ वैशाख, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफलेले बजेटमा स्थानीय र प्रदेश सरकारको प्राथमिकता एउटै हुनुपर्ने बताउनुभएको छ ।
बुधबार आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट तर्जूमाको सम्बिन्ध स्थानीय सरकारसँगको पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री काफ्लेले विगतमा स्थानीय र प्रदेश सरकारको तालमेल नमिल्दा बजेटको सही सदुपयोग हुन नसकेको बताउनुभयो । दुबै सरकारको एकै प्राथमिकता हुनेगरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री काफ्लेले अलपत्र योजनाहरुलाई निर्माण प्रक्रियामा लैजानको लागि सरकारको गम्भीर रहेको समेत दाबी गर्नुभयो । उहाँले आगामी बजेटको प्राथमिकतामा त्यसतर्फ काम गर्ने विश्वास दिलाउनुभयो । स्थानीय सरकारले आगामी योजना निर्माण गर्दा उत्पादन र रोजगारसँग जोडेर निर्माण गर्नुपर्नेमा मन्त्री काफलेले निर्देशन दिनुभयो ।
यसअघि प्रदेश सरकारले स्थानीय सरकारलाई दिएका अनुदानहरु चुहावट भएकाले त्यसले सरकारको आयदर उकास्न नसकेको उहाँले बताउनुभयो । आगामी बजेट उत्पादनमुखी नभए वा बजेटको स्रोत सुनिश्चिता नभए सरकारको अर्थतन्त्र खस्किने उहाँले बताउनुभयो । संविधानमा उल्लेख भएका मौलिक हकको सदुपयोग गरी उत्पादनमुखी विकासमा दुई तहको सरकार जोडिनुपर्ने उहाँको भनाई छ । मन्त्री काफ्लेले बागमती प्रदेशको पहिलो प्राथमिकता उत्पादनमूखी बजेट निर्माण गर्नुरहेको रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले आगामी नीति योजनामा बागमती प्रदेश सरकारले प्रशासनिक भवन निर्माणमा जोड दिनुपर्ने कुरामा गम्भीर ध्यानाकर्षण गराउनुभयो । करिब ८ वर्ष अघि स्थानीय सरकारले जग्गा उपलब्ध गराइसकेको तर हालसम्म पनि प्रदेश सरकारले भवन निर्माण गर्न नसकेकोमा त्यसलाई गम्भीरतापूर्वक ध्यानमा राखि सरकार सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले लागत सहभागितामा अबको विकास योजना तय गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।













