महिला गोल्डकपको सम्पूर्ण तयारी पुरा
१६ वैशाख, हेटौँडा । सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता यही वैशाख १९ गतेदेखि आयोजना हुने भएको छ ।
छैटौं संस्करण सम्म पुरुष गोल्डकप गर्दै आएको जिल्ला फुटबल संघ मकवानपुरले यसपटक महिला गोल्डकप गर्न लागेको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोलीहरु एपीएफ क्लब, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सहित ८ वटा क्लवको सहभागिता रहने जानकारी गराइएको छ । यस्तै, अन्य क्लवहरुमा मकवानपुरको रिगल हेटौंडा रिसोर्ट एन्फा , बिरगंज युथ एकेडेमी, नव जनजागृति युवा क्लव सिमरा बारा, रौतहट जिल्ला महिला टिम र चितवन जिल्ला महिला टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बाँनियाको तर्फबाट स्कुटर पुरस्कार रहेको छ ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् । यस्तै, शिवम् सिमेन्ट् लिमिटेड, लिशन फार्मेसी चौघडा, रियल हेटौंडा रिसोर्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र बीमा साझेदारको रूपमा एनएलजि इन्सुरेन्स रहेका छन् ।
प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ । स्थानीय पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण, तथा राष्ट्रिय खेलकुदको विकासमा टेवा पु¥याउने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताउनुभयो ।













