यस आर्थिक वर्षमा बागमती प्रदेशका ९१ जनामा औलोको संक्रमण पुष्टी
१२ वैशाख, हेटौँडा । औलो दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय मकवानपुरले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा औलो नियन्त्रणका लागि सरकारबाट सञ्चालनमा रहेका कार्यक्रमहरू, नेपालमा औलो संक्रमणको स्थिती, अबको रणनीतिका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सूचना अधिकारी लक्ष्मण घिमिरेले औलो रोगको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
यस आर्थिक वर्षमा मकवानपुरमा एक जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष मकवानपुरमा कुनै पनि औलो संक्रमित फेला परेका थिएनन् । तर, यस वर्ष भने बकैया गाउँपालिकामा एक जना आयातितमा औलो संक्रमित भेटिएको उहाँले बताउनुभयो ।
औलो संक्रमित भेटिँदा औलो परिक्षण दरमा भने कमि आएकोमा उहाँले चिन्ता व्यक्त गनुृभयो । मकवानपुरमा गत वर्ष तीन हजार तीन सय ९४ ले औलो परिक्षण गराएकोमा यस वर्ष नौ महिनाको अवधिमा एक हजार पाँच सय ८८ जनाको औलो परिक्षण गरिएको छ । उच्च ज्वरो आएमा अनिवार्य रुपमा औलो परिक्षण गर्नुपर्ने जनस्वास्थ्य कार्यालयको सुझाव रहेको छ ।
यस आर्थिक वर्षमा नेपालमा कुल सात सय ९१ औलो बिरामी फेला परेकामा बागमती प्रदेशका ९१ जनामा संक्रमण पुष्टी भएको कार्यालयको तथ्यांक छ । जसमध्ये १ मात्र स्थानीय र बाँकी आयातित रहेका छन् । बागमती प्रदेशमा कुल जनसंख्याको करीब ३० प्रतिशत औलोको जोखिममा रहेका छन् । औलो नियन्त्रणका लागि सचेतना र परीक्षण नियमित हुनुपर्नेमा कार्यालयको जोड छ ।
औलो एनोफिलिज नामको संक्रमित लामखुट्टेको टोकाइबाट सर्दछ । औलो संक्रमण हुँदा उच्च काम ज्वरो आउने, शरीरका जोर्नीहरु दुख्ने, वान्ता हुने जस्ता लक्षण देखा पर्ने गर्दछ । नेपालमा सन् १९५४ देखि औलो निवारणका कार्यक्रम हुँदै आएका छन् । नेपालले सन् २०३० सम्म औलो नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।













