मदन आश्रित स्मृति कप फुटबल प्रतियोगिता २०८१ हुने
१७ चैत्र, हेटौँडा । राष्ट्रिय युवा संघ नेपाल, बागमती गाउँ कमिटीले मदन आश्रित स्मृति कप फुटबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै चैत्र २० गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिताको बारे जानकारी दिइएको छ । बागमती गाउँपालिका ८ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने संघका अध्यक्ष अशोक ग्यालनले जानकारी दिनुभयो ।
७ औं बागमती गोल्डकप खेल्न नपाएका र लुकेर बसेका खेल प्रतिभाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । खेलप्रेमी युवाहरुको संरक्षण हुने र स्थानीय स्तरमै खेलाडीहरु उत्पादन हुने अपेक्षा समेत आयोजकले गरेको छ । प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यसैगरी विद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार, हाई गोल स्कोररलाई २ हजार, उत्कृष्ट मिड फिल्डरलाई २ हजार, उत्कृष्ट डिफेण्डरलाई २ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद ५ सय प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।













