सुशासन कायम गर्न आयोजना बैंक महत्वपूर्णः मुख्यमन्त्री लामा
६ चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुशासन कायम गर्न र भ्रष्टचार न्युनिकरण गर्न आयोजना बैंक महत्वपूर्ण सावित हुने बताउनुभएको छ ।
प्रदेश नीति तथा योजना आयोगद्वारा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापना सुचना प्रणालीको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले टुक्रे योजना र खल्तीबाट योजना हाल्ने प्रवृतिको अन्त्यका लागि योजना बैंक प्रभावकारी बन्ने बताउनुभयो । जनतामा देखिएको नैराश्यतालाई पनि आयोजना बैंक मार्फत् चिर्न सकिने उहाँको भनाई छ ।
विगतका योजनाहरुलाई अद्यावद्यिक गरी बैंकले योजनाको प्राथमिकीकरण गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाले योजना बैंक मार्फत् प्रदेशको सबै निर्वाचन क्षेत्रमा योजना समावेश गरिने भएकोले भ्रष्टचार पनि कम हुनेमा विश्वास व्यक्त गर्नुभयो । योजना सबै ठाउँमा पुग्नुपर्छ भन्ने मान्यता प्रदेश सरकारको रहेको उहाँले बताउनुभयो । राजनीतिक दलहरुले मात्र नभई प्रदेशबासीले समेत अपनत्व गर्ने गरी योजना बैंकको अवधारणा अघि सारेको उहाँले दोहो¥याउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले योजना छनौटदेखि मूल्यांकन र प्रभावकारिताका विषयमा बढ्दो जनगुनासोलाई सम्बोधन गर्न लागि योजना बैंकको अवधारणा ल्याइएको बताउनुभयो । योजना बैंकको अभावमा विगतमा देखिएको समस्या हल गर्ने उद्देश्यले योजना बैंक सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । मन्त्री काफ्लेले प्रदेश सरकारको लगानी सञ्चालित मेगा प्रोजेक्टका साथै अन्य आयोजनाको प्रभावकारिताको विषयमा अध्ययन भैरहेको समेत बताउनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले आयोगबाट निर्धारित मापदण्ड अनुसार प्रणालीमा प्रविष्ट भएका योजनाको मूल्यांकन तथा प्राथमिकीकरण गरिने बताउनुभयो । ७५ अंक वा सोभन्दा माथिको योजना पहिलो प्राथमिकता र सो भन्दा कम अंकका योजनालाई दोस्रोमा राखेर सोही अनुसार बजेट विनियोजन हुनेछ । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरुले योजना बैंक कार्यान्वयनमा भने आशंका रहेको बताएका थिए ।














