हेटौंडा शहरका परिकल्पनाकार टोनी हेगनको अर्धकदको सालिक अनावरण

स्वर्णिम खबर
२० फाल्गुन २०८१, मंगलवार १६:४३

२० फागुन, हेटौँडा । हेटौंडा शहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ ।
हेटौंडा १० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. टोनी हेगनको अर्धकदको सालिकको मंगलबार हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।


सालिक र पार्क निर्माण गर्न हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गर्नुभयो । उहाँले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गर्नुभयो । नेपालको ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको समेत उहाँले बताउनुभयो ।


त्यसैगरी अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा. टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपालिकाले सहरको मध्यभागमा पार्क निर्माण गरेको बताउनुभयो । पार्कको व्यवस्थापनमा उपमहानगर जिम्मेवार भएर लाग्ने उहाँले बताउनुभयो । नगर प्रमुख लामाले अन्र्तराष्ट्रिय जगतमै नेपाललाई चिनाउन आफुहरु लागिपरेको समेत उल्लेख गर्नुभयो ।
पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल, ब्याडमिन्टन कोर्ट निर्माण गरिँदै छ । कार्यक्रममा टोनी हेगन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हागनले नेपाललाई विश्वमा मात्र नभई नेपालीलाई नेपाल चिनाएको बताउनुभयो । १ विगाहा ४ कठ्ठा साढे १७ धुर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*