कांग्रेस र एमाले इमानदार हुँदा सम्म सरकार ढल्दैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

मनिल महतो
१२ फाल्गुन २०८१, सोमबार १४:४९

१२ फागुन, हेटौँडा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार कसैले पनि ढाल्न नसक्ने बताउनुभएको छ ।
कांग्रेस र एमालेमा बईमानी पलाए मात्र सरकार ढल्ने उहाँको भनाई छ । दुबै दल इमानदार हुँदा सम्म ओली नेतृत्वको सरकार नढल्ने उहाँले जिकिर गर्नुभयो । सोमबार एमाले जिल्ला कमिटी मकवानपुरको बैठकमा सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभयो ।
२०७९ को निर्वाचन पछि राजनीतिक अस्थिरतको बिगबिगी चलिरहेको समयमा दुबै दलले आपसमा सहकार्य गरेको उहाँले उल्लेख गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले माओवादी केन्द्र तर्फ संकेत गर्दै कांग्रेस म्याजिकल नम्बरको चक्करमा फस्दा २०७९ को निर्र्वाचन पछि राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको जिकिर गर्नुभयो । कांग्रेससंग मिल्दै गर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले ८४ को चुनावमा प्रतिस्पर्धा गर्दैगर्दा नेपाली कांग्रेस मुलुकको समाधान हुन नसक्ने जिकिर गर्नुभयो । राष्ट्रमा देखिएको संकट समाधानको लागि पनि एमालेले आगामी चुनावमा बहुमत ल्याउनुपर्ने उहाँको भनाई छ । एमालेले बहुमत ल्याउन नसक्दा मुलुक फेरि पनि राजनीतिक अस्थिरताको भुमरीमा फस्ने उहाँले उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।


वरिष्ठ उपाध्यक्ष पोखरेलले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताउनुभयो । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नमिल्ने उहाँको भनाई छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले वडा तहबाटै एमालेलाई बलियो बनाउनुपर्ने जिकिर गर्नुभयो । जनताको मन जितेमात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
यसैबीच नेकपा एकीकृत समाजवादीका पूर्व बागमती प्रदेश कमिटी सदस्य शिवहरी बर्तौला सहित २ दर्जन नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*