हेटौंडा अस्पतालमा स्वास्थ्य बिमाका बिरामीले दैनिक रुपमा ओपीडि टिकट दर्ता गर्न नपर्ने
२८ माघ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्तालले दैनिक रुपमा ओपीडि टिकट दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ ।
दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका विरामीको गुनासोलाई अस्पताल प्रशासनले सम्बोधन गरेको छ । अबदेखि १ पटक ओपीडिको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फ्लोअप गर्न सकिने व्यवस्था गरिएको अस्पतालबाट जारी सूचनामा उल्लेख गरिएको छ ।
यो व्यवस्था माघ २९ गतेदेखि नै लागू हुने सूचनामा जनाइएको छ । दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लागि लाइन नबसी सेवाहरुको विलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको अस्पताल सञ्चालक समिति सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो ।
यो व्यवस्था बमोजिम ओपीडी जाँच गराएको ७ दिन भित्र सम्बन्धित विभागको डाक्टरसँग सिधै भेट्न सकिनेछ ।













