प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित

मनिल महतो
२६ माघ २०८१, शनिबार १९:४७

२६ माघ, हेटौँडा । बागमती प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
शनिबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले विधेयक पारित गरियोस् भनि प्रस्ताव पेश गर्नुभएको थियो । विधेयक पारित भएसंगै खेलाडी र खेलकुद विकासको एजेण्डा युवा तथा खेलकुद मन्त्रालयले नै अघि बढाउन बाटो खुलेको छ । परिषद्हरुको बैठक राख्न, बजेट निर्माण तथा आकार बढाउन, १० औँ राष्ट्रिय खेलकुदको लागि बोर्ड बैठक राख्नलगायत खेलाडी र खेलकुद क्षेत्रको समग्र विकास तथा विस्तारको लागि आवश्यक काम गर्न कानूनी सहजता प्राप्त भएको मन्त्री महर्जनले बताउनुभयो ।
यसैगरी बैठकमा चार वटा संशोधन सहितको विधेयक विभिन्न समितिहरुमा दफावार छलफलको लागि पठाएको छ । बैठकले ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो ।
प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक लाई उद्योग, पर्यटन तथा वातारण समितिमा पठाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*