सोनाम ल्होछार राष्ट्रिय पर्वको रुपमा विकास हुँदै गएको छः मन्त्री खड्का
१९ माघ, हेटौँडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्काले सोनाम ल्होछार नेपालकै राष्ट्रिय पर्व हुदै गएको बताउनुभएको छ ।
मञ्जुश्री सम्वत् २८ सय ६१ औं सोनाम ल्होछारको अवसरमा दक्षिणीकाली टोल विकास संस्थाले हेटौंडा ३ मा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले पछिल्लो समयमा सोनाम ल्होछार तामाङ समुदायले मात्र नभई सबै नेपालीले मनाउने साझा पर्वको रुपमा विकास हुँदै गएको बताउनुभयो ।
बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाएको उल्लेख गर्नुहुँदै उहाँले तामाङ भाषालाई राष्ट्रिय भाषाकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । चाडपर्वले राष्ट्रको भौगोलिकतालाई प्रतिनिधित्व गर्ने भएकोले कला, संस्कृतिको संरक्षण गर्न समेत मन्त्री खड्काले आग्रह गर्नुभयो ।
दक्षिणीकाली टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नं. वडाका पूर्व वडा अध्यक्ष रामकुमार पुडासैनी, मिलन टोल विकास संस्थाको अध्यक्ष धनबहादुर घलान, वडा सदस्य हर्क पाख्रिन, देवकी विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।













