मकवानपुरमा २२ हजार ७ सय १३ जना छात्रालाई एचपिभी लगाइने

स्वर्णिम खबर
१५ माघ २०८१, मंगलवार १९:१०

१५ माघ, हेटौँडा । मकवानपुर जिल्लामा २२ हजार भन्दा बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ ।
जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरुको लागि मंगलबार गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्यनरत २२ हजार ७ सय १३ जना छात्रालाई एचपिभी खोप लगाइने जानकारी दिइएको हो । देशव्यापी रुपमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान मकवानपुरमा भने माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ ।
मकवानपुर गढी गाउँपालिकाको चण्डिका मा.वि.बाट खोप अभियान शुभारम्भ गरिने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । यसवर्ष कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रमुख मिजारको अनुसार विद्यालय लक्षित खोप केन्द्र २ सय ४० र अन्य खोप केन्द्र १ सय १० गरी ३ सय ५० खोप केन्द्रमा ३ सय ६७ खोप सेशन रहने गरी अभियान सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रालाई विद्यालयमै र विद्यालय नजाने करिब ६ सय ५४ जना छात्राहरु लाई खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वमसेवक परिचालन गरिने भन्दा बढी ।
प्रमुख मिजारले प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वमसेवक परिचालन गरिने जानकारी गराउनुभयो । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाईने भन्दैे कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको उहाँले बताउनुभयो । प्रमुख मिजारका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखिएको छ । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउन समेत उहाँले आग्रह गर्नुभएको छ ।
जिल्ला खोप समन्वय समिति मकवानपुरका संयोजक ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सह–संयोजक सानुकाजी लुइँटेल, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल अर्बुद रोग निवारण संस्थाका जिल्ला उपाध्यक्ष भीमप्रसाद तिमल्सिना, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*