हेटौंडामा माघ १३ गतेदेखि राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

स्वर्णिम खबर
१२ माघ २०८१, शनिबार १७:४६

१२ माघ, हेटौँडा । २५ औं राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १३ गतेदेखि १९ गतेसम्म हेटौंडाको सामना होटलमा हुने जानकारी गराएको हो । छनोट भएर आएका महिला तर्फ १२ तथा पुरुष तर्फ १२ गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले जानकारी दिनुभयो । अन्र्तराष्ट्रिय जगतमा मुलुकको पहिचान सहित स्वाभिमान उच्च राख्न एवम् बृद्धिचालको व्यवसायिक विकासमा सहयोग गर्न प्रतियोगिता गर्न लागिएको महासचिव लामाले बताउनुभयो ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा मकवानपुर सहित झापा, काठमाडौ, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुम पुर्वका खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले श्रीलंकामा मार्च १० देखि १९ तारिख सम्म हुने एसियन जोनल, सन् २०२६ मा उज्वेकिस्तानमा हुने ओलम्पियाड र चीनमा हुने एसियन च्याम्पियनसीपमा सहभागी जनाउने पाउने आयोजकले जनाएको छ । उक्त सहभागीताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ ।
त्यसैगरी प्रतियोगितामा दोश्रो हुनेले जनही नगद १५ हजार र तेश्रो हुनेले जनही नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको आवसीय व्यवस्थापन आयोजकले नै गर्नेछ ।
नेपाल बुद्धिचाल महासंघको प्रमुख आयोजना तथा मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*