भुक्तानी नपाउँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्योः निर्माण व्यवसायी
८ माघ, हेटौँडा । नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित प्रदेश, जिल्ला समिति र मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचितलाई निर्माण व्यवसायी संघ मकवानपुरले स्वागत तथा सम्मान गरेको छ ।
संघको कार्यालय परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै पत्रकार महासंघको निर्वाचनमा विजयी भएका प्रदेश अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुँमागाई, जिल्ला समितिका अध्यक्ष बालकृष्ण अधिकारी सहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट नेतृत्वको टिमलाई पनि सम्मान गरेको हो ।

कार्यक्रममा बोल्नुहुँदै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले भएका कामहरुको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको बताउनुभयो । राज्यबाट निर्माण व्यवसायीहरुलाई निरुत्साहित गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । व्यवसायीहरुको सुरक्षासंगै लगानीको सुरक्षा गर्न पनि राज्यले ध्यान दिनुपर्ने अध्यक्ष कँडेलको भनाई छ ।
यसैगरी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष रानाभाटले राज्यपक्षकै कमजोरीको कारण आज निर्माण व्यवसायी आन्दोलनमा उत्रनुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो । निर्माण व्यवसायीको मागलाई साथ उद्योग वाणिज्य संघ तयार रहेको समेत उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

















