कर्मचारी प्रशासनले मन्त्रीपरिषद बैठकको निर्णयलाई चुनौती दिन थालेः महेश बर्तौला
२३ पुस, हेटौँडा । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्वले काम गर्न नसकेको बताउनुभएको छ ।
राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको उहाँले बताउनुभयो । उद्योग संघ मकवानपुरको २३ औं साधारणसभालाई मंगलबार हेटौंडामा सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक बर्तौलाले सचिव तहका कर्मचारीहरु बाधक बन्दा हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन हुन नसक्ने स्थितिमा पुगेको जिकिर गर्नुभयो ।
कर्मचारीले मन्त्रीपरिषद्को बैठकको निर्णयलाई नै चुनौति दिन थालेको उहाँको भनाई छ । प्रमुख सचेतक बर्तौलाले कर्मचारी प्रशासनमा सुधार नभएकै कारण राष्ट्रिय गौरवका योजनाहरु अगाडि बढाउन समस्या परेको बताउनुभयो । प्रशासनिक अप्ठराहरुका बीच सहजता खोजेर मयुरधाप औद्योगिक क्षेत्रलाई सञ्चालन गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले विगतमा सरकारहरु अस्थिर हुँदा उद्योग क्षेत्र मारमा परेको बताउनुभयो । घोषित रुपमै एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि जनता र राष्ट्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गर्ने उहाँले बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले मुलुकमा राजनीतिक स्थिरता हुने गरी संविधानका केही प्रावधानलाई संशोधन गरिने समेत बताउनुभयो । अघिल्लो सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा वर्तमान सरकारले काम गर्नुपरेकाले केही असहजता हुन गएको समेत उहाँले उल्लेख गर्नुभयो ।
उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको समाध्यक्षतामा भएको कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीहरुले सरकारले उद्योगमैत्री ऐनहरु ल्याउन नसक्दा आफुहरु मारमा परेको बताएका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सांसद् विन्दावासिनी कंसाकार, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विरेन्द्र राज पाण्डे, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।













