समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि काम भइरहेको छः मन्त्री श्रेष्ठ
१६ पुस, हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठले सहकारी आन्दोलनलाई अझै सशक्त बनाउन प्रदेशमा छुट्टै सहकारी मन्त्रालय स्थापना गरिएको बताउनुभएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा मंगलबारदेखि शुरु भएको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी आन्दोलनले मात्रै उत्पादन र बजारलाई व्यवस्थापन गर्दै अर्थतन्त्र बलियो बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सहकारी व्यवस्थापन गर्ने अभियानका साथ छुट्टै मन्त्रालयको स्थापना गरिएको उहाँको भनाई छ । प्रदेशको अधिकार क्षेत्र भित्रका सहकारीलाई व्यवस्थापनका कार्य सुरु भैसकेको जानकारी दिदै मन्त्री श्रेष्ठले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि समितिले कार्य गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै बागमति प्रदेशकी उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले देशको आर्थिक संवृद्धिमा सहकारीको भूमिका महतवपूर्ण रहेको बताउनुभयोे । १८ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा सहकारी तथा सहकारीका शेयर सदस्यद्वरा उत्पादित बस्तु बिक्रि वितरणका लागि राखिएको छ ।
सस्थाको नवनिर्मित भवनमा जारी प्रदर्शनीमा हस्तकला, खाद्यसामग्री, ताजा तरकारी लगायत ४० वटा स्टलहरू रहेको सस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । जिल्ला बचतमा १ सय ३५ सहकारी आवद्ध रहेका छ्न ।













