थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु
२९ कार्तिक, हेटौँडा । थाहा नगरपालिकामा बिहिबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ ।
थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा प्रतियोगिता संचालन भएको हो । मार्चपास सहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गर्नुभएको थियो । प्रतियोगिता मंसिर १ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा थाहा नगरका ६ संस्थागत सहित १७ वटा विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाउनेछन् ।
नगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत आयोजित प्रतियोगितामा १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर तथा ३ हजार मीटर छात्रछात्रा दौड हुनेछ । त्यस्तै छात्र–छात्रा १ सय मिटर र ४ सय मिटर रिले दौड, हाईजम्प, त्रिपल जम्प, सटफुट तथा मार्चपास रहेका छन् भने कराते प्रतियोगिता पनि सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने थाहा नगरपालिकाका शिक्षा शाखाले जनाएको छ । मेयर कप भलिबल प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु १५ हजार, द्धितीय हुनेले नगद रु १० हजार र तृतिय हुने विद्यालयले नगद रु ५ हजार का साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।













