हेटौंडा उपमहानगरपालिकाको २ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

स्वर्णिम खबर
१२ श्रावण २०८१, शनिबार १८:०६

१२ श्रावण, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको २ नं. वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
शनिबार एक औपचारिक समारोहका बीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले २ नं. वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । कार्यक्रममा मेयर लामाले आर्थिक अभावको कारण बालबालिका शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हिंसामुक्त नगर स्थापना गर्न सबै एकजुट हुनुपर्ने उहाँको भनाई छ । मेयर लामाले बालबालिकाहरुको चौतर्फी विकासको लागि अभिभावकहरुसंग सहकार्य गर्न पनि उपमहानगर तयार रहेको बताउनुभयो । उहाँले उपमहानगरलाई बालमैत्री नगर घोषणा गर्न ठुलो चुनौती रहेको जिकिर गर्नुभयो । मेयर लामाले अरु वडाहरु पनि बालमैत्री वडा घोषणा हुने चरणमा रहेको बताउनुभयो ।


यसैगरी कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष एवम् बालमैत्री शासन मूल समारोह समितिका संयोजक विष्णु गोपाल महर्जनले आवश्यक ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु शत प्रतिशत, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म पुरा गरेको दाबी गर्नुभयो । अध्यक्ष महर्जनले बालबालिकाको वृत्तिविकासका विषयहरुलाई वडाले आफ्नो योजनामा निरन्तर समावेश गर्दे आइरहेको बताउनुभयो ।


यसअघि ८ नं. वडा पनि बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुङ्गाना, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम र महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्यता रहेको थियो । बालमैत्री वडा घोषणा कार्यक्रमअघि ¥याली समेत निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*