काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँगको खेल महत्वपूर्णः अरुणा शाही

स्वर्णिम खबर
५ श्रावण २०८१, शनिबार १७:५८

५ श्रावण, काठमाडौँ । नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताउनुभएको छ ।
नेपाल र रसियाबीच आगामी आईतवार र सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दुई मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलअगाडि शनिवार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान अरुणा शाहीले रसिया भलिबलमा शारीरिक र रणनैतिक रूपमा पनि निकै बलियो टोली रहेकाले यो मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने बताउनु भयो ।
नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले काभा महिला नेसन्स लिगको पूर्वसन्ध्यामा रसियाजस्तो टोलीसँग खेल्न पाउनु ठूलो अवसरको रूपमा लिनुभएको छ । उहाँले पनि रसियाको भलिबलको पावर गेम रहेको र रसियासँगको मैत्रीपूर्ण खेलबाट धेरै पक्ष सिक्न पाउने विश्वास व्यक्त गर्नुभयो ।


रसियन टोलीका प्रशिक्षक युरी मरिचेभले अन्तर्राष्ट्रिय स्तरमा कुनै पनि टोली सहज नहुने भएकाले खेल रोमाञ्चक नै हुने आशा व्यक्त गर्नुभयो । साथै उनले आफ्नो टोलीमा अधिकांश नयाँ खेलाडी रहेको समेत स्पष्ट पार्नुभयो ।
नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । १६ सदस्यीय टोलीसहित रसिया नेपाल आइपुगेको हो । नेपालले काभा महिला नेसन्स लिग घरेलु मैदानमा नै खेल्दै छ । नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*