सरकारी बेवास्तका कारण थिंक ट्यांक संस्थाहरुको भुमिका खुम्चियोः पूर्व राष्ट्रपति भण्डारी

स्वर्णिम खबर
१ श्रावण २०८१, मंगलवार १७:५४

१ श्रावण, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीर्घकालीन महत्व राख्ने मामिलामा राज्यले अवलम्वन गर्ने नीति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभएको छ ।
मंगलवार त्रिभूवन विश्वविद्यालयमा आयोजित नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) को ५३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रका लागि आवश्यक विषयमा तथ्यमा आधारित ज्ञानको उत्पादन गरी स्थापित अनुसन्धान केन्द्रहरुको राज्यको नीति निर्माण तहमा महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले पछिल्ला दशकहरुमा पर्याप्त श्रोत, साधनको अभाव र सरकारी बेवास्तका कारण थिंक ट्यांक संस्थाहरु सिमित भुमिकामा खुम्चिनुपरेको उल्लेख गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रिय हित, सुरक्षा र समग्र राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा प्रणाली रहेको र समृद्ध राष्ट्र र सुखी जनता यसैमा अन्तरनिहित भएको बताउनुभयो । उहाँले राज्यले अपनाउने शिक्षा प्रणाली र लगानीमा गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो ।
यसैगरी त्रिभूवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले सिनास आफैँ जागरुक भएर लाग्ने हो भने आफूलाई चाहिने रिसोर्स आफैँले बनाउन सक्ने बताउनुभयो । उहाँले विश्वविद्यालयबाट उत्पादित विद्यार्थीलाई आफ्नै खुट्टामा उभिनसक्ने बनाउने बताउनु भयो । उपकुलपति बरालले विश्वविद्यालयबाट निस्किँदा आफैँले कमाएर खानसक्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उपकुलपति बरालले विश्वविद्यालयमा पेश भएको नीतिमा स्पष्ट रहेको भन्दै आफ्ना आमाबुबालाई कमाएर पाल्ने विद्यार्थीलाई आफूले कमाएर पाल्नसक्ने वातावरण विश्वविद्यालयले सिर्जना गरिदिने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*