आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा लिनेको संख्या बढ्दै

१९ असार, हेटौँडा । आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उदेश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समतिको सभाहलमा बुधबार भएको कार्यक्रममा आर्थिक बर्ष २०८०÷८१ मा प्रवाह भएको सेवाको बारेमा कार्यालयकी प्रमुख ललिता पाण्डेले जानकारी गराउनु भएको थियो । तथ्यांक अनुसार मकवानपुरका विगतका वर्षको तुलनामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा लिनेको संख्यामा वृद्धि हुँदै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र यस मातहतका स्वास्थ्य कार्यालय मार्फत् यस आर्थिक वर्षको जेठ मसान्त सम्ममा मकवानपुरमा ३२ हजार ९ सय ९१ जनाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सेवा लिएका छन् ।
यस कार्यालयले प्रदान गर्दै आएको सेवा मध्य सबैभन्दा बढी पञ्चकर्म सेवा लिने रहेका छन् । यस आर्थिक वर्षमा मकवानपुरमा ४ हजार ५ सय १३ जनाले पञ्चकर्म सेवा लिएका छन् । २ हजार ५ सय ९ जनाले ल्याब सेवा, २ हजार ४ सय ९ जलाले फिजियोथेरापी, २ हजार २ सय ९० जनाले अकुपंचर सेवा लिएको प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी, २ सय २९ ले सल्य सेवा, २ हजार ५ सय ९ ज्येष्ठ नागरिक सेवा, ३ सय ४९ जनाले दुग्धवद्र्धक औषधी लिएका छन् ।
यस अवधिमा कार्यालयबाट महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, ट्राफिक प्रहरीहरुको लागि नस्य कार्यक्रम, विधालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, आयुर्वेद स्वास्थ्यकर्मीहरुको लागि योगाभ्यास सम्बन्धी पुनर्ताजगी तालिम प्रदान गरिएको प्रमुख पाण्डेको भनाइ छ । विरामी भर्ना सेवा, योग हल र जनशक्तिको अभावले सोचे अनुरुप सेवा प्रवाह गर्न नसकिएको प्रमुख पाण्डेले बताउनुभयो ।