महिलामा पाठेघरको समस्याः जोखिमयुक्त स्वास्थ्य र पिडादायक दैनिकी बन्दै

नानीमाया सापकोटा गौतम
९ असार २०८१, शनिबार १८:५०

८ असार, हेटौँडा । हेटौंडा–८ निवासी गौरी थापालाई दुई बर्षअघि पाठेघरको मुखको क्यान्सर भयो । तेस्रो स्टेजमा पुगेको क्यान्सरले केमोथेरापी तथा पाठेघरको शल्यक्रिया पश्चात निको त भइन् तर, त्यसले निम्त्याएको स्वास्थ्य समस्याले आज पनि स्वास्थ्य सँस्थामा धाइरहेकी छिन् । उनलाई क्यान्सर निको भएपनि ट्युमर(मासु पलाउने) को समस्याले कयौपटक केमोथेरापी गराइसकिन् । पाठेघरबाट शुरु भएको उनको यो समस्या पाठेघर निकालीसक्दा पनि समाधान हुन सकिरहेको छैन । यस्तै भिमफेदी गाँउपालिका निबासी ५७ बर्षीया कान्छीमाया तामाङ (नाम परिवर्तित) २५ बर्षको उमेरदेखि नै आङ (पाठेघर) खस्ने समस्याबाट पिडित भइ रहेकी थिइन् । २५ बर्षको उमेरमा सुत्केरी अवस्थामा गह्रौं सामान उचाल्दा योनीमा केही अििड्कए जस्तो भयो । पछि थाहा पाइन् कि यो आङ अर्थात पाठेघर खसेको रहेछ । यहि अवस्थामै २८ बसन्त पार गरेकी कान्छीमाया ४ बर्षअघि गाँउमा पाठेघर परिक्षण शिविर लागेपछि पहिलोपटक परिक्षण गराउन गइन् । शिविरपछि स्वास्थ्य कार्यालय मकवानपुरले रिङ पेसरी लगाइदियो । २५ बर्षको उमेरमै पाठेघर झरेपछि उनको श्रीमानसँगको यौन सम्बन्ध बिग्रियो र श्रीमानले दोस्रो बिबाह गरे । दिनभरी श्रम गरेमात्र चुलो बल्ने कान्छीमाया पिडा खपेरै दिनभर खेतबारीमा काम गर्थिन । पाठेघरकै कारण जीवनभर सास्ती खेपेपछि ५२ बर्षको उमेरमा रिङ पेसरी त लगाइन् , यो पनि समय समयमा फेर्न नसके रिङ मासुमै जेलिने समस्या आउन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएको बताएकी छिन् ।

ओझेलमा परेको समस्या
हाम्रो समाजमा पाठेघरमा समस्या आउन सक्छ भनेर महिलाहरु सर्तक भएको पाइदैन । समस्या आउनु अगावै स्वास्थ्य परिक्षण गरेर जोगिनुपर्ने बिषय भएपनि महिलाहरु अनबिज्ञ रहेका छन् । पाठेघरमा समस्या जटिल भइसक्दा पनि स्वास्थ्य सँस्था जान लाज मान्ने गरेकोले परिक्षण गर्न आउने बिरामीको सँख्या अत्यन्त न्युन रहेको हेटौंडा अस्पतालका प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा. राघवेन्द्र ठाकुरले जानकारी दिनुभयो । बिशेषगरि महिलाको पाठेघरको इन्फेक्सन, पाठेघरको मुखको क्यान्सर, मासु पलाउने (ट्युमर) जस्ता समस्या जटिल भइसकेर अन्तिम अवस्थामा मात्र बिरामीहरु स्वास्थ्य परिक्षण गर्न आउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय पाठेघरको मुखको क्यान्सर मातृशिशु स्वास्थ्यमा नै चुनौती बन्दै गइरहेको डा. ठाकुरले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर एचपिभि भाइरसको कारण हुन जान्छ । यो हरेक महिलालाई हुने जोखिम हो तर जोखिम न्युनीकरण गर्न न्युन सँख्यामा शिक्षित महिलाहरु मात्र परिक्षण तथा उपचार गर्न आउने गरेको उहाँको अनुभव छ । यस्तै कम उमेरमा यौन सम्पर्क हुँदा, धेरै जनासँग यौनसम्पर्क हुँदा तथा सरसफाईमा ध्यान नदिदा पाठेघर सम्बन्धी समस्याहरु बिशेषगरि पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्ने हेटौंडा अस्पतालका स्त्री तथा प्रसुतीरोग बिशेषज्ञ डा. गौरी घिमिरे बताउनुहुन्छ । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सन २०१७ मा गरेको एक अध्ययन अनुसार नेपालमा १० हजार ५ सय १६ जना क्यान्सर पिडित रहेकामा ५ हजार ५ सय ७७ जना महिला थिए । यि मध्ये ९ सय २८ जना महिलामा पाठेघर सम्बन्धी मात्रै क्यान्सर भएको थियो , जुन क्यान्सरको प्रकारहरुमा फोक्सो पछिको दोस्रो ठुलो सँख्या हो । यो सँख्या अस्पतालमा उपचार गराउन आएका बिरामीहरुको मात्र भएको र नआएकाको अझै सँख्या यकिन हुन नसकेको सो अस्पतालका क्यान्सर रजिष्ट्ररी डा. कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
गएको एक बर्षभित्र हेटौंडा उपमहानगरपालिकामा मात्रै ३० देखि ४९ उमेर समूहका ७ सय ५ जनाले पाठेघरको भिआइए मार्फत परिक्षण गराएकोमा ४ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएको थियो । यस्तै ५० बर्ष माथिका उमेर समुहका २ सय ४२ जना महिलाको पाठेर परिक्षण गर्दा १ जनाको पाठेघरको मुखको क्यान्सरको लक्षण भेटिएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यस्तै आङ खस्ने समस्या २ सय ७१ जनामा परिक्षण गरिएकोमा १० जनामा आङ खस्ने समस्या देखियो ।

दैनिक जीवनयापनमा समस्या
पाठेघरमा सर्भिकल क्यान्सर (पाठेघरको मुखको क्यान्सर) को जटिलता त छदैँछ । यसबाहेक पाठेघरको अब्सटेट्रिक फिस्टुला, इन्फेक्सन भइ थाहै नपाइ पिसाब चुहिने समस्या हुन्छ । यस्ले महिलाहरुलाई हिनताबोध गराउदछ । यौनसम्पर्क पिडादायक हुन गइ श्रीमानसँगको सम्बन्धमा समेत दरार आएका घटनाहरु छन् । यस्तै परिवार बाहिरकाले थाहा पाएमा उपचारको सट्टामा होच्याउने, खिसि गर्ने , बिरामीको आलोचना गर्ने डरले बिरामी अस्पताल नै नजाने र समस्या अत्यन्तै जटिल भएपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गर्दछन् । यस्तै पाठेघरका समस्यामा पिडित बिरामीलाई सानो पेट दुखिरहने, रक्तस्राव हुने हुँदा दैनिक जीवन यापनमा समेत प्रत्यक्ष नकारात्मक असर परिरहन्छ । आर्थिक क्रियाकलापमा भाग लिन नसक्दा महिलाहरु आर्थिक रुपमा पछि पर्न जान्छन् । यस्ता घटनाहरुले मानसिक रुपमा समेत समस्या थपिने गर्दछ । महिलाको प्रजनन क्रियाको प्रमुख अंग नै जीवन तहसनहस पार्ने कारण बन्न जान्छ ।

समाधान के छ ?
स्त्री तथा प्रसुतीरोग बिशेषज्ञ डा. राघवेन्द्र ठाकुर पाठेघर सम्बन्धी चेतनाको कमी रहेकोले महिलाहरुमा जागरुकता बढाउनुपर्ने सुझाव दिनुहुन्छ । प्रत्येक प्रजनन उमेरका महिलाहरुले पाठेघरको नियमित जाँच गराएमा कुनै पनि समस्या शुरुमै पत्ता लगाउन सकिने र सहज तरिकाले उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
यसले भविष्यमा हुनसक्ने जटिलता समेत रोक्न सकिने हुँदा स्वस्थ पाठेघरले स्वस्थ जीवनशैली बिताउन सकिने उहाँको भनाइ छ । यस्तै महिलाहरुले परिपक्व उमेरमा बिबाह गर्ने , धेरैजना सँग यौन सम्पर्क नगर्ने, यौन अंगहरुको सरसफाइमा ध्यान दिने, खानामा पर्याप्त पोषक तत्व मिलाएर खाने, उपलब्ध भएसम्म किशोरावस्थामा एचपिभि खोप लगाउने, सुत्केरी अवस्थामा कम्तीमा ४५ दिनसम्म पर्याप्त आराम र सन्तुलित भोजन खानाले पाठेघरको क्यान्सर लगायत अन्य समस्याबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*