२ करोड ७१ लाख मुल्य बराबरको भेपसहित हेटौंडामा ५ जना पक्राउ

७ असार, हेटौँडा । दुई करोड ७१ लाख मुल्यको बराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवर सहित मकवानपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नंबरको यात्रु बाहक बसलाई रोकी बसमा रहेका भारतिय यात्रुहरुलाई बसबाट ओराली शंकास्पद व्यक्तीहरु बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौंडा–११ थाना भ¥याङबाट भेप फेला पारेको हो ।
पक्राउ पर्नेमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो ।