हेटौंडामा दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम केन्द्र स्थापना
२३ वैशाख, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँंडा अस्पतालमा दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम केन्द्र स्थापना गरिएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको आर्थिक सहयोगमा तालिम केन्द्रको स्थापना गरिएको हो । आइतबार प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमकाबीच तालिम केन्द्रको उद्घाटन गर्नुभएको हो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री श्रेष्ठले दिगो विकासको लक्ष्य अनुसार मातृशिशु मृत्युदर न्यूनिकरणमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेश अगाडी रहेतापनि प्रति लाखमा मातृशिशु मृत्युदर ७५ प्रतिशत हुनु चूनौतिपूर्ण रहेको बताउनुभयो ।

तालिम केन्द्र स्थापनासँगै पहिलो चरणको दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम समेत आइतबारबाटै सुरु गरिएको छ । ६० दिनसम्म चल्ने तालिममा बागमती प्रदेशका तीन जिल्लाका ८ जना स्वास्थ्यकर्मी सहभागि भएका छन् । प्रतिष्ठानका रजिष्टार एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सचिव दिपक तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र झा, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याल लगायतको उपस्थिती थियो ।













