भीम विराग प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित

स्वर्णिम खबर
२२ बैशाख २०८१, शनिबार १७:३१

२२ वैशाख, हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले ९ जना स्रष्टालाई सम्मान गरेको छ ।
११ जना स्रष्टालाई सम्मान गर्ने भनिए तापनि प्रतिष्ठानले शनिबार एक औपचारिक कार्यक्रम गरी साहित्य, संगीत, कला र पत्रकारिता तर्फका विभिन्न ९ विधामा सम्मान गरेको हो ।
हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, संगीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बि.एस राना र पत्रकारिता पुरस्कारबाट ललितपुरका पत्रकार जयदेव भट्टराईलाई सम्मानित गरेको हो । यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।
२० हजार राशीको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार गायिका पम्फा थापा मगरलाई प्रदान गरिएको छ ।
त्यसैगरी १५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरकी साहित्यकार मञ्जु खराल र शिला नारी पुरस्कारबाट निरु मगरलाई सम्मानित गरिएको छ ।
यसैगरी १० हजार राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा एवम् प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*