सञ्चारजगत बलियो भए मात्र सरकार बलियो हुन्छः मेयर लामा
१९ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सञ्चारजगत बलियो भए मात्र सरकार बलियो हुने बताउनुभएको छ ।
मेयर लामाले सकारात्मक ढंगले टिकाटिप्पणी गर्दै आफ्नो संघसंस्थालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १८ औं साधारणसभा एवम् १२ औं जिल्ला अधिवेशन कार्यक्रममा बोल्नुहुँदै मेयर लामाले राष्ट्रको स्वाधिनता, राष्ट्रियता र मानव अधिकारको प्रत्याभूति तुल्याउन पत्रकारिता क्षेत्रलाई अब जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय निकायले गर्दै आएको आफ्नो भूमिकालाई अझ प्रभावकारी ढंगबाट जनहितमा परिचालन गर्न पत्रकार महासंघको सुझाव र सल्लाह स्थानीय निकायलाई आवश्यक रहेको उहाँको भनाई छ ।

साधारणसभामा महासंघका सचिव शुभलक्ष्मी विश्वकर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशव सर्मपण सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघ मकवानपुरले जिल्लामा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार पनि प्रदान गरेको छ । महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठ स्मृति पुरस्कारबाट सरिता दाहाललाई र बोर्नबहादुर पार्वती राउत स्मृति पुरस्कारबाट नवराज तिमल्सिनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघको केन्द्रीय सचिव श्रृजना अर्याल, केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव प्रसाद देवकोटा सहित महासंघका पूर्व अध्यक्ष, पत्रकार आबद्ध संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।













