मन्त्री श्रेष्ठद्वारा हेटौंडा अस्पतालको आकस्मिक अनुगमन

स्वर्णिम खबर
१४ बैशाख २०८१, शुक्रबार १८:२७

१४ वैशाख, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले हेटौंडा अस्पतालको आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौंडा अस्पतालमा मन्त्री श्रेष्ठले अनुगमन, निरीक्षण एवम् बिरामी सँग भेटघाट समेत गर्नुभएको हो । करीब अढाइ घण्टा अस्पतालमा बिताउनुभएका मन्त्री श्रेष्ठले जनरल वार्ड, आकस्मिक कक्ष, ओपीडी, सर्जीकल वार्ड, प्रसुती वार्ड, अप्रेसन थिएटर, आईसीयू, एचडीयूमा समेत अनुगमन गर्नुभएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले बिरामीको चाप अनुसार आवश्यक जनशक्ति व्यवस्थापन गरेर काउन्टर थप गर्न अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीधर अर्याललाई सुझाव दिनुभयो । कार्ययोजना बनाएर अस्पताल सुधारमा लाग्न मेसु अर्याललाई मन्त्री श्रेष्ठको आग्रह थियो ।


प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेसँगै ओपीडि समय बढाउन अस्पताल प्रशासनलाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । उहाँले अस्पतालका कर्मचारीहरुले बिरामीलाई गर्ने व्यवहार सुधार गर्नुपर्नेमा पनि जोड दिनुभयो । बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नपनि उहाँले अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठले अस्पतालमा कुनै पनि प्रकारको औषधीको अभाव हुन नदिने गरी मौज्दात गर्न पनि निर्देशन दिनुभयो ।


अनुगमनको क्रममा सेवाग्राहीहरुले स्वास्थ्य बिमाको सेवा लिन सास्ती खेप्नुपरेको, बिरामीप्रति अस्पतालका कर्मचारीको व्यवहार फरक भएको, नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधि समेत अस्पताल फार्मेसीबाट पाउन नसकेको गुनासो गरेका थिए ।अस्पतालका मेसु डा. अर्यालले विद्यमान समस्या तुरुन्त हल गर्ने बताउनुभयो । हेटौंडा अस्पतालमा ईमरजेन्सी र ओपीडीमा दैनिक १३ सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिने गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*