मेयर कपको उपाधि ४ नंं. वडालाई

स्वर्णिम खबर
५ बैशाख २०८१, बुधबार २०:२८

५ वैशाख, हेटौँडा । चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा वडा नं. ४ ले जितेको छ ।
हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको फाइनल खेलमा हेटौंडा १४ नं. वडालाई सडनडेथमा ६–५ ले पराजित गर्दै ४ नं. वडाले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । टाइब्रेकरमा २–२ गोलको बराबरी भएपछि सडनडेथबाट विजेताको टुंगो लागेको हो । खेलको ६२ औं मिनेटमा च्याम्पियन टोलीको तर्फबाट दीपेश भण्डारीले गोल गर्दै अग्रता दिलाएका थिए । खेल सकिन १० मिनेट बाँकी रहेको अवस्थामा उपविजेता टोलीका लागि अनुप रानामगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
उपाधिसंगै ४ नं.वडाले नगद २ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा हेटौंडा–४ का खेलाडी अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी उत्कृष्ट गोलरक्षक हेटौंडा ४ का निरज देउला, उत्कृष्ट मिडफिल्ड हेटौंडा ४ कै दिपेश भण्डारी, उत्कृष्ट प्रशिक्षक हेटौंडा ४ कै शंकर खड्ग, उत्कृष्ट फरवार्ड हेटौंडा १४ का अनुप रानामगर, उत्कृष्ट डिफेण्डर हेटौंडा १४ कै सुविन धमला र सर्वाधिक गोलकर्ता हेटौंडा १५ का विश्वास भ्लोन घोषित भए । उनीहरु सबैले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा हेटौंडा १५ नम्बर वडा तेस्रो र १३ नम्बर वडा चौथो स्थानमा रह्यो । दुवै टोलीले क्रमशः ५० र २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेता, सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा आयोजक हेटौंडा नगर खेलकुद विकास समिति अध्यक्ष रवीन्द्र घिमिरेले पुरस्कार वितरण गरेका थिए । चैत २४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा हेटौंडाका १९ वटा वडाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*