हेटौंडा ९ नं.वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन
२८ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नंं. ९ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
बुधबार उपमहानगरकी मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानिंयाले संयुक्त रुपमा ६ कोठे भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मेयर लामाले भवन जति सुन्दर छ त्यसैगरि सेवा प्रवाह पनि सहज र सुन्दर तरिकाले दिन निर्देशन दिनुभयो । उपमहानगरले सम्पूर्ण वडा कार्यालयको भवन निर्माण गर्ने अभियान थालेको उहाँले बताउनुभयो । नागरिकलाई आत्मसात् गरेर वडा कार्यालयले जिम्मेवारी पूर्ण ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मेयर लामाले चालु आर्थिक वर्षमै ९ नं. वडावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा उपमेयर राजेश बानिंयाले नवनिर्मित भवनबाट जनताले विगतको भन्दा गुणस्तरीय सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभयो । ९ नं. वडाले विकासमा फड्को मारेको समेत उहाँले जिकिर गर्नुभयो । उपमेयर बानिंयाले जनताको मन र मतको अपमान नहुने गरी काम गर्ने समेत बताउनुभयो ।

६७ लाख बजेटमा निर्माण गरिएको कार्यालयबाट अब सहज सेवा प्रवाह गर्न सकिने वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो । कार्यक्रममा विभिन्न निर्माण कम्पनी तथा उपभोक्ता समितिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित वडा अध्यक्षहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।













